विवादित विषयमा सहमति खोज्न बैठक बस्ने दलहरुको तयारी

चैत २७, काठमाडौ- संविधानका विवादित विषयमा सहमति खोज्न आज पनि दलहरुले छलफल गर्ने भएका छन् । विभिन्न विकल्पहरु अघि सारेर दलहरुले सहमतिको प्रयास गर्नेछन् ।

आज दुईपक्षीय छलफल भएपछि सयुक्त बैठक बसेर सहमति खोजिने नेताहरुले बताएका छन् । पहिलो चरणमा दोस्रो तहका नेताहरुबीच छलफल हुने र त्यसकै आधारमा शीर्ष नेताहरुले सहमति खोज्ने एमाओवादीका महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
महराका अनुसार विभिन्न विकल्पअघि सारेर सहमतिको प्रयास भइरहेको छ । संघीयतालाई जोडेर हरेक दलबाट फरक फरक प्रस्ताव आएको र त्यसलाई मूर्तरुप दिएर सहमति गरिने उहाँले बताउनुभयो ।
आज छलफलको समय यकिन नभएपनि नेताहरुबीच वार्ता हुने प्रधानमन्त्रीको सचिवालयले पनि बताएको छ । प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले प्रधानमन्त्रीले छलफलको तयारी गर्नुभएको जानकारी दिनुभयो ।