नेपालीलाई विदेशमा लगानीको स्वीकृति दिन माग

चैत्र २६,काठमाडौ- नेपाल समुद्रपार निकासी पैठारी सङ्घले नेपाली नागरिकलाई विदेशमा लगानीका लागि अनुमति दिनुपर्ने माग गरेको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाललाई आज उहाँकै कार्यकक्षमा भेटेर सङ्घको प्रतिनिधिमण्डलले त्यस्तो माग गरेको हो ।

सङ्घका अध्यक्ष रमेश गुप्ता नेतृत्वको प्रतिनिधिमण्डलले विदेशीले नेपालमा लगानी गरेर आकर्षक प्रतिफल लगिरहेकाले आफूहरूले पनि विदेशमा लगानी गर्न पाए त्यसबाट प्राप्त हुने प्रतिफल स्वदेश ल्याउने बताउनुभयो ।
भारतमा क्षेत्रीय कार्यालय स्थापना गरेका बहुराष्ट्रिय कम्पनीले नेपालमा सामान आयात गर्दा भारतको कार्यालयको नाममा एलसी (लेटर अफ क्रेडिट) खोल्न लगाउने र उनीहरूलाई पायक पर्ने स्थानमा सामान हस्तान्तरण हुँदै आएको जनाउँदै सङ्घले भारतमा एलसी खोल्न पाउने व्यवस्था गर्न माग गरेको थियो ।
टिटी (टेलिग्राफिक ट्रान्सफर) बाट सामान आयात गर्दा राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने सीमा ७० हजारदेखि एक लाख अमेरिकी डलर पु¥याउन र तेस्रो मुलुकमा निर्मित सामान भारतबाट आयात गर्न नपाउने व्यवस्था हटाउन पनि सङ्घले गभर्नर नेपालसँग अनुरोध गरेको सङ्घका महासचिव विनोदकुमार सेठियाले राससलाई बताउनुभयो ।