को–को पर्दैछन् अख्तियारको जालमा ?

चैत्र २४, काठमाण्डौ- दुई बहालवाला सचिवसहित दुई दर्जन उच्च पदस्थ अधिकारीविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डको भ्रष्टाचार प्रकरण मुद्दा दायर गरेपछि निजामती कर्मचारी नेतृत्वमा सनसनी मच्चिएको छ ।

साना कर्मचारीलाई मात्र कारबाही गरेको भनेर आलोचना खेप्दै आएको अख्तियारले पर्यटन बोर्डको भ्रष्टाचारमा मुद्दा दायर भएका व्यक्तिहरु सबैजसो उच्च पदस्थ अधिकारीहरु छन् । अनुसन्धानमा रहेका ९५ प्रतिशत कर्मचारीविरुद्द अनुसन्धान भइरहेको र पाँच प्रतिशतको मात्र मुल्तबीमा राखिएका अख्तियारका एक उच्च अधिकारीले बताए ।
पर्यटन बोर्डको भ्रष्टाचारमा बहालवाला सचिवद्वय शरदचन्द्र पौडेल , रञ्जनकृष्ण अर्याल तथा पूर्वसचिव सुशील घिमिरेलाई समेत अख्तियारले मुद्दा दायर गरेको छ । त्यस्तै सचिवद्वय डिल्ली शिवाकोटी,मेघबहादुर पाण्डेविरुद्द पनि मुद्दा दायर भएको छ । उनीहरुमध्ये शरदचन्द्र पौडेल ,रञ्जनकृष्ण अर्याल,टीकाराम सापकोटा पर्यटन बोर्डको नियमावली संशोधनमा बोर्ड सदस्यका रुपमा हस्ताक्षर गरेका थिए । त्यत्तिकै कारण उनीहरुको करिअरमा गम्भीर धक्का लागेको छ । सचिव पौडेल निजामती प्रशासनमा स्वच्छ र क्षमतावान् व्यक्तिका रुपमा चिनिएका थिए ।