डा. गोविन्द केसीले अनशन तोडे

चैत्र १९,काठमाण्डौ- नेपालको मेडिकल क्षेत्रमा व्याप्त माफियातन्त्रको अन्त्य र स्पष्ट मेडिकल शिक्षा नीतिको माग गर्दै आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले आज १२औं दिनमा अनशन तोडनु भएको छ ।केसीलाई अनशन तोडाउन प्रधानमन्त्री सुशील कोइराला पनि उपस्थित हुनुहुने भनिएपनि उहाँभने शिक्षण अस्पताल पुग्नु भएको थिएन ।यसअघि, सरकार र डा. केसी पक्षबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिमा सरकारका तर्फबाट योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल र मुख्यसचिव लीलामणि पौडेलले हस्ताक्षर गर्नु भएको छ भने केसीको तर्पmबाट डा. केसी स्वयं र नेपाल चिकित्सक संघका अध्यक्ष डा.अञ्जनीकुमार झाले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिअनुसार सरकारले डा. केसीले राखेका लगभग सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएको छ । जसअनुसार चिकित्सा नीति नबनेसम्म नयाँ मेडिकल कलेजहरुको सम्बन्धन रोकिने छ भने सम्बन्धन पाइसकेकाहरु पनि खारेजीमा पर्ने छन् ।यस्तै, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिने प्रतिवेदन तत्काल कार्यान्वय गर्ने सरकारी प्रतिवद्धता छ ।त्यसैगरी, पाँचै विकास क्षेत्रमा कम्तिमा एक–एक सरकारी मेडिकल कलेज सन्चालन गर्न सरकार सहमत भएको छ ।यस्तै, आइओएम टुक्र्याउने निर्णय खारेज र चिकित्साशास्त्र विश्वविद्यालय स्थापना गर्नेलगायतका विषयमा सहमति भएको छ ।