चलचित्र ‘झोला’ बैशाख ११ देखि पुनः प्रदर्शन हुने

काठमाडौं- सती प्रथाको विषय उठान गरेको मौलिक चलचित्र ‘झोला’ पुनः प्रदर्शन हुने भएको छ । साहित्यकार कृष्ण धारावासीको ऐतिहासिक कथामा आधारित यो चलचित्र निर्माण युनिटले आउँदो नयाँ बर्ष २०७२ सालको बैसाख ११ गते देशव्यापी पुनः प्रदर्शनमा आउन लागेको जानकारी दिएका छन् ।

गत बर्ष २०७० साल माघ २४ मा रिलिज भएर दर्शकको राम्रो साथ पाएको यो चलचित्र औपचारिक पुनः प्रदर्शन हुनु नेपाली चलचित्र ईतिहासमा नै पहिलो हो ।
यसअघी पहिलो रिलिजमा व्यवसायिक असफलता हात पारेपछी चलचित्र ‘बलिदान’ पनि दोस्रो पटक हलमा ल्याईएको थियो ।
‘पछिल्लो समय नेपाली चलचित्र प्रति दर्शकको रुची घटेको अवस्थामा पुनः प्रदर्शनमा ल्याउनु आफैंमा कठिन भएको हामीले महसुस गरेका छौं’, निर्देशक यादवकुमार भट्टराईले भने, ‘पहिलो रिलिजमा धेरै दर्शकले चलचित्र हेर्न नपाएको गुनासो हामीसँग आएको तथा पछिल्लो समय बढ्दो महिला हिंसाको घटनाको विरुद्धमा शसक्त आवाज ‘झोला’मा रहेकोले पनि चलचित्र पुनः रिलिज आवश्यक ठानेका हौं ।
व्यवसायिक रुपमा सफल बने पनि धेरै हलमा यो चलचित्रले रिलिज नभएको तथा धेरै दर्शकले चलचित्र हेर्न नपाएको गुनासोका बीच कुनै समयको नेपाली समाजको अवस्थालाई सबै दर्शकले हेर्ने मौका प्रदान गर्नको लागी नै पुनः प्रदर्शनको तयारीमा आफुहरु जुटेको निर्माता राज तिमिल्सिनाले बताए ।
‘झोला’ सामाजिक सञ्जाल युट्युवमा पनि नआउने तथा यसको डिभी भिसिडी पनि सार्वजनिक नहुने यसअघी नै निर्माण टिमले बताउँदै आएको छ ।
देश तथा विदेशका विभिन्न फिल्म फेस्टिभलहरुमा प्रदर्शन भईसकेको यो चलचित्र नेपालबाट ओस्कार अवार्डको लागी पनि छनोट भएको थियो भने अभिनेत्री गरिमा पन्तले यो चलचित्रबाट ‘सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड समेत हात पारेकी थिइन् ।
यो चलचित्रले सार्क फिल्म फेस्टिभलसँगै ‘वासिङ्ग्टन वेस्ट फिल्म फेस्टिभल अमेरिका, गोवा ईन्टरनेशनल फिल्म फेस्टिभल भारत, दिल्ली ईन्टेनेशनल फिल्म फेस्टिभल भारत, डेनेभर ओमेन फिल्म फेस्टिभल कोलोराडो’ लगायतका विभिन्न अन्तर्रा्िष्ट्रय चलचित्र महोत्सवहरुमा नेपालको प्रतिनिधित्व गरेको थियो ।
गरिमा पन्तसँगै देशभक्त खनाल, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय छ ।
चलचित्रमा राजसँगै मालती शाह, सुशिल शाह, रामगोपाल श्रेष्ठले पनि लगानी गरेका छन् । ‘झोला’लाई पुनः प्रदर्शनमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ । चलचित्र देशभरका ५० भन्दा बढी हलहरुमा प्रदर्शनमा आउने बताइएको छ ।