आगामी महाधिवेशनमा सभापतिमा उठ्छु: नेत्री सुजाता कोइराला

चैत्र १८,विराटनगर- नेपाली काँगे्रसकी नेत्री सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफू सभापतिको पदमा उठ्ने सम्भावना रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले आज बिहान जिपी प्रतिष्ठान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सभापति पदमा सुशील कोइराला नउठेको खण्डमा आफू सो पदमा महिलाको सशक्तीकरणका लागि उठ्ने स्पष्ट पार्नुभयो ।
उहाँले मुलुक सङ्घीयतामा गइरहेको अवस्थामा पार्टीभित्र नयाँ नेतृत्वको विकासका लागि थुप्रै समावेशी पद सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहमति, सहकार्य र एकताका लागि गिरिजाबावुले दिनुभएको सन्देशलाई नेपाली काँग्रेस पालना गरेर अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै नेत्री कोइरालाले अहिले पनि सहमतिका लागि प्रर्याप्त समय रहेकाले एमाओवादीलगायतका दललाई लचिलो हुन आग्रह गर्नुभयो ।
मुलुकमा उत्तर–दक्षिण मिलाएर राज्यको निर्माण र पाँचभन्दा बढी राज्य बनाउनु नहुने विषयमा जोड दिँदै उहाँले असहमतिका विषयलाई थाती राखेर सहमतिका विषयमा अगाडि बढेर कार्य गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।
उहाँले गणतन्त्र, धर्मनिरपेक्षलगायतका विषयमा निर्णय भइसकेकाले यस विषयमा फेरबदल हुन नसक्ने स्पष्ट पार्दै फेरबदल गरेमा मुलुकमा अस्थिरता आउने उल्लेख गर्नुभयो ।