युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ

चैत्र १७, महोत्तरी – बलात्कार गरेको आरोपमा महोत्तरीमा एक प्रहरी हवलदार पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई कार्यरत प्रहरी हवलदार बिजकिशोर यादव रहेको प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । सोनामाई १ बस्ने युवतीले गएराति आफ्ना केटा साथीसँग सदरमुकाम जलेश्वर नगरपालिका४ स्थित न्यू परदेशी एसी होटलमा खाजा खान गएको बेला प्रहरी हवलदार यादवले साथीलाई कुटपिट गरी भगाई बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छिन् । घटनापश्चात् पीडितले जिप्रकामा आएर घटनाबारे जानकारी गराउँदा प्रहरीनायब यादवलाई तत्काल पक्राउ गरिएको आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब श्रेष्ठले बताउनुभयो । साथै पीडितलाई समेत प्रहरीको महिला सेलमा राखिएको र उनको जिल्ला अस्पताल महोत्तरीमा स्वास्थ्य जाँच गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।