नेपाली टोलीले आफ्नो अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनको सामना गर्ने

चैत्र १७, काठमाण्डौ—एएफसी यु–२३ छनोट च्याम्पियनसिप अन्तर्गत नेपाली टोलीले आफ्नो अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनको सामना गर्ने भएको छ ।
इरानको राजधानी तेहरानस्थित साहिद दास्टगेरडी रङ्गशालामा नेपालले आज दिउँसा सवा ३ मा प्रतिष्ठाका लागि प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्ने भएको हो । प्रतियोगितामा नेपाल यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । जारी प्रतियोगितामा तीन खेल खेलेको नेपाल तीन खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
यसअघि भएका खेलमा नेपाल साउदी अरेबियासँग ६–०, आयोजक इरानसँग ५–० तथा अफगानिस्तानसँग २–० गोलअन्तरले पराजित भएको थियो । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा तीन खेल खेलेको इरान नौ अङ्कका साथ लिगको शीर्ष स्थानमा तथा साबिक उपविजेता साउदी अरेबिया सात अङ्कका साथ लिगको दोस्रो स्थानमा छन् ।त्यस्तै अफगानिस्तान चार अङ्कका साथ तेस्रो तथा प्यालेस्टाइन तीन अङ्क जोड्दै लिगको अन्तिममा छन् ।
आज नै आयोजक इरान र साउदी अरेबिया आमनेसामने हुनेछन्, जुन खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । प्रतियोगितामा जुन टोलीले विजय हासिल गर्नेछ त्यही टोली एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ । यदि खेल बराबरीमा समाप्त भए आयोजक इरान प्रतियोगिताका लागि छनोट हुनेछ ।