नेम्वाङले बोलाए संविधानसभाको बैठक चैत २३ मा

चैत्र १५,काठमाण्डौ- संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई महिनादेखि रोकिएको संविधानसभाको बैठक चैत २३ गतेका लागि बोलाएका छन् । संविधानका अन्तर्वस्तुमा सुहमति जुटाउन भन्दै माघ २९ गते स्थगित संविधानसभाको बैठक उनले चैत २३ गते दिउँसो १ वजेका लागि बोलाएका हुन् ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आइतबार सूचना प्रकाशित गरी सभाध्यक्षले बैठक बोलाएको जानकारी गराएका छन् । यसअघि संविधानसभाका अध्यक्ष नेम्वाङले प्रमुख दलहरुलाई आइतबार साँझ ५ वजेसम्मका लागि सहमति गर्न अल्टिमेटम दिएका थिए ।

प्रमुख दलका सचेतकहरुसँगको भेटमा उनले चैत १५ गतेसम्म सहमति नगरे बैठक बोलाउने चेतावनी दिएका थिए । सत्तारुढ दलहरुले भने सभाध्यक्ष नेम्वाङलाई प्रक्रिया सुरु गर्न आग्रह गरिरहेका थिए । विपक्षी एकीकृत नेकपा माओवादी सहितका दलले भने बैठक बोलाए बहिस्कार गर्ने चेतावनी दिएका थिए ।