विश्वकप क्रिकेटको उपाधि भिडन्त आज

चैत्र १५,काठमाण्डौ—आयोजक राष्ट्रहरु अष्ट्रेलिया र न्यूजिल्यान्डबीच एक दिवसीय विश्वकप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ ।  अष्ट्रेलियाको मेलबर्नमा अहिले विहान सवा ९ बजेबाट अष्ट्रेलिया र न्यूजिल्यान्ड उपाधिका लागि भिड्ने भएका हुन । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलियाले न्यूजिल्यान्डविरुद्ध भिडन्त तय गरेको हो भने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै न्यूजिल्यान्ड पनि पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो । आजको खेल जित्दै अष्ट्रेलिया कीर्तिमानी पाँचौपटक एक दिवसीय विश्वकप क्रिकेटको उपाधि उचाल्न चाहन्छ भने न्यूजिल्यान्ड इतिहासमै पहिलोपटक विश्वकप जित्ने लक्ष्यमा रहेकोछ ।
समूह चरणमा एकै समूहमा रहेका यी दुई टोलीबीचको भिडन्तमा न्यूजिल्यान्ड विजयी भएको थियो । आज हुने फाइनलमा न्यूजिल्यान्ड आफ्नो सोही सफलता दोर्होयाउने प्रयासमा हुनेछ भने अष्ट्रेलियाले विश्व क्रिकेटको आफ्नो गर्बिलो इतिहासलाई निरन्तरता दिँदै न्यूजिल्यान्डसँग बदला लिने कोशिस गर्नेछ ।