हेलिकोप्टरमा कोच्दै छालाजति चीनतिर तस्करी

चैत्र १४, काठमाण्डौ- तस्करहरूले नेपालबाट हेलिकोप्टर चार्टर गरेर चीनतर्फ वन्यजन्तुको चोरीनिकासी गर्दै आएका छन्। स्थल नाकामा सुरक्षा जाँच कडा हुन थालेपछि तस्करहरूले वन्यजन्तुका अंगहरू हेलिकोप्टर चार्टर गरी चीनको तिब्बतलगायत भूभागमा पुर्‍याउँदै आएको रहस्य तस्करीमा संलग्न हुम्ला बडगाउँका लल्ली लामा पक्राउ परेपछि खुलेको हो।

लामो समयदेखि तस्करीमा संलग्न लामा केही महिनाअघि बाघ, चितुवालगायत वन्यजन्तुका छाला र हड्डीसहित सुर्खेतमा समातिएका थिए। उनले वन्यजन्तुका अंग चीनका विभिन्न बजारमा पुर्‍याउने गरेको बयान वन कार्यालयका अधिकारीहरूलाई दिएका छन्।
जिल्ला वन कार्यालय सुर्खेतका अनुसार अभियुक्तले अनुसन्धानका क्रममा नेपालमा चोरी सिकार गरिने वन्यजन्तुको मुख्य बजार चीन भएको बताएका छन्।
पछिल्लो समय सीमा नाकामा कडाइ हुन थालेपछि वन्यजन्तुका अंगहरू चीन पुर्‍याउन तस्करहरूले आकाशमार्ग प्रयोग गर्न थालेको अनुसन्धानबाट पाइएको छ। यसका लागि नेपालका निजी विमान कम्पनीका साना हेलिकोप्टर प्रयोग भइरहेको छ।
लामाले सडकमार्गबाट निकासी गर्दा सीमा नाकामा र हवाईजहाजबाट लैजाँदा विमानस्थलमा जाँचका क्रममा पक्राउ पर्ने डरले आफूहरूले हेलिकोप्टर चार्टर गरेर सीधै चीनमा पु:याउने गरेको बयान दिएको वन कार्यालयका एक अधिकारीले बताए।
सीमाक्षेत्रमा रहेका चीनका दुर्गम बस्तीमा हेलिकोप्टर अवतरण गर्ने र त्यहाँबाट चिनियाँ व्यापारीहरूले वन्यजन्तुको अंग लैजाने गरेका छन्।
चोरी सिकार गरिएका वन्यजन्तुका अंग तस्करहरूले हेलिकोप्टर चार्टर गरेर हुम्ला र सीमामा पर्ने पाक्लाकोट तथा मुगु र डोल्पासँग जोडिएका चीनका उच्च गाउँमा पुर्‍याउँछन्।
लामाले पक्राउ पर्ने डरले आफूहरूले सुरक्षाकर्मीको पहुँच नभएका सीमा क्षेत्रका जंगल र बारीमा हेलिकोप्टर अवतरण गर्न लगाउने गरेको बयान दिएका छन्।
‘तस्करहरूले साना हेलिकोप्टर नै चार्टर गरेर चीनका पहाडी क्षेत्रका गाउँमा अवतरण गराउने र त्यहाँबाट मुख्य व्यापारीसम्म पुर्‍याउने रहेछन्’, जिल्ला वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले भने।
केही दिनपहिला चितुवाको छाला र हड्डीसहित पक्राउ परेका नेपाली सेनाका हबल्दार भक्तबहादुर रानाले पनि आफूहरूले वन्यजन्तुको अंग चीनतर्फ निकासी गर्ने गरेको बयान दिएका छन्।