नेता भट्टराईले भने–जेठ १५ मा संविधान जारी गरे ओली प्रधानमन्त्री

चैत्र १४ ,काठमाण्डौं – एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सहमतिका आधारमा जेठ १५ भित्र नयाँ संविधान जारी भए एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन्।

पोखरामा शुक्रबार भट्टराईले भने, ‘सत्तारुढ दलले हाम्रा मागलाई सम्बोधन गरेर जेठ १५ भित्र सहमतिका आधारमा नयाँ संविधान जारी गर्न सकारात्मक पहल थाल्नुपर्छ। त्यो अवस्थामा एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्री बन्ने चाहना पुरा हुनेछ।’
भट्टराईले सहमतिमा संविधान ल्याउन नसके छिमेकी देशले हस्तक्षेप गर्ने बताएका छन् ।‘घरमा लोग्ने स्वास्नी झगडा गरे भने त छिमेकीले के भएछ भनेर झ्यालबाट हेर्छन,’ उनले पोखरामा आयोजित सहमतीय संविधान निर्माणमा जनआन्दोलनको भूमिका विषयक अन्तरक्रियामा भने ‘हामी आफैं नमिलेर झगडा गरिरहने हो भने छिमेकीले हात हाल्छ, हाल्छ ।’
उनले चीन र भारतजस्ता शक्तिशाली राष्ट्र वीचको नेपाल सुगौली सन्धिपछि नै पराधीनको साङ्गलोमा बाँधिएको बताउँदै दलहरु मिलेर संविधान बनाई देश विकासमा जुट्नुबाहेक अर्को विकल्प नभएको जिकिर गरे ।
नेता भट्टराईले कांग्रेस–एमालेका केही नेताहरु अझै पनि संघीय राज्यको विरोध गर्दै पृथ्वीनारायण शाहको उत्तराधिकारी बन्न खोजेको पनि आरोप लगाए । कांग्रेस र एमालेप्रति कडारुपमा प्रस्तुत नेता भट्टराईले जातीय राज्यको विरोधका नाममा उनीहरु बाहुन क्षेत्रीको पक्षमा उभिएको बताए ।
‘कांग्रेस–एमाले संविधानमा जातीय राज्यको गन्ध आउन दिँदैनौ भन्दैछन्,’ उनले भने ‘पुरानै राज्य हुनुपर्छ भन्नु जनजाति, मधेसी र उत्पीडितको राज्य नदिई बाहुन क्षेत्रीको पक्षपोषण गर्नु हो ।’
गणतन्त्र आएपनि अझै बाहुन क्षेत्रीको एकलौटी नतोडिएको बताउँदै जनजाति, मधेसी र उत्पीडित जातिको अधिकारका लागि आन्दोलन गर्नुपरेको जिकिर गरे ।
भाषा, जाति र विकटताको आधारमा १० प्रदेश, शासकीस्वरुप र निर्वाचन प्रणालीमा सहमति नभएसम्म संविधान नबने बताए । ३० दलीय मोर्चाका माग पुरा नगरिए आमहड्ताल गर्ने उनले चेतावनी दिए ।
सत्तारुढ दलले आफूहरुका माग पुरा गरे जेठ १५ गते नयाँ संविधान जारी भई एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्री बन्ने चाहना पुरा हुने उनको भनाइ थियो ।