राष्ट्रपति डा. रामवरण यादव आज चीन भ्रमणमा जाँदै

चैत १२, काठमाडौँ- राष्ट्रपति डा रामवरण यादव आज चिन भ्रमणमा जाँदै हुनुहुन्छ । चीन सरकारको निमन्त्रणामा आज देखि १८ गतेसम्म औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा आज देखि १५ गतेसम्म आयोजना हुने ‘एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति डा यादव त्यसतर्फ प्रस्थान गर्नु हुने भएको हो ।

राष्ट्रपति डा यादवले यही चैत १४ गते बिहान उक्त सम्मेलनलाई सम्बोधन गर्ने तथा सोही दिन अपराह्न आफ्नो चिनियाँ समकक्षी राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सातदिने चीन भ्रमणक्रममा आज साँझ राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको सान्या सहर पुग्नेछ । एकदिने सान्या बसाइका क्रममा राष्ट्रपतिले आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नाका साथै नान्सा रमणीय उद्यानको भ्रमण गर्ने कार्यक्रम छ ।
मन्त्रालयका अनुसार शुक्रबार नै राष्ट्रपति डा यादवले उक्त उद्यानमा नेपाल चीन सांस्कृतिक केन्द्रमा नेपालमण्डपको उद्घाटन गर्नुहुनेछ । सान्याबाट शनिबार बिहान उहाँ सम्मेलनस्थल बोआओतर्फ प्रस्थान गर्नुहुनेछ । सोही दिन सम्मेलनलाई उहाँले सम्बोधन गर्ने र त्यसपछि चिनियाँ राष्ट्रपतिले सिले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनुहुनेछ ।
शनिबार अपराह्न राष्ट्रपति यादव र अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । सोही दिन साँझ राष्ट्रपति डा यादव र उहाँका चिनियाँ समकक्षी सिबीच भेटवार्ता हुनेछ ।