न्यायाधीश बमका मुख्य सुटर साउदी अरबबाट पक्राउ

चैत ११, काठमाडौँ- सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गर्ने मुख्य अभियुक्त सञ्जय स्माईली मगर साउदी अरबाट पक्राउ परेका छन् ।इन्टरपोलले जारी गरेको डिफ्युजन नोटिशका आधारमा मगरलाई साउदी प्रहरीले मंगलबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख डिआईजी हेमन्त मल्ल ठकुरीले बताए । पक्राउ परेका मगरलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको छ ।घटनाका मुख्य सुटर भगवान भनिने सञ्जय स्माइली मगर विदेशमा भएकाले प्रहरीले उनीविरुद्द इन्टरपोलमार्फत डिफ्युजन नोटिश जारी गरेको थियो । स्माइली पहिलो संविधानसभा निर्वाचनमा चुरेभाबर पार्टीका उमेद्वारसमेत बनेका थिए।

२०६९ जेठ १८ गते बगलामुखी मन्‍दिरको दर्शन गरेर फर्किने क्रममा ललितपुरको युएन पार्क नजिकै न्यायाधीश बमको गोली हानी हत्या गरिएको थियो।
सडकमा गाडी कुदिरहेको अवस्थामा पछाडिबाट आएका दुईवटा मोटरसाइकलमा आएका युवाले रोकेर सोधपूछ गर्ने क्रममा गोली हानेका थिए। बमको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।प्रहरीले यसअघि गत पुसमा बमको हत्यामा संलग्न चारजनालार्इ पक्राउ गरिसकेको छ । पक्राउ चारमध्ये एक चुरे भावर पार्टीका उपाध्यक्ष बाबु थापा थिए ।बम सम्मिलित इजालसले आफूलाई तीन वर्षसम्म राजनीतिक हिसाबले भूमिकाबिहिन बनाउने फैसला दिएको भन्दै थापाले बदला लिन हत्याको योजना रचेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।प्रहरीले करन चौधरी शिव चौधरी र नबिन भनिने प्रेमराज खड्कालार्इ पनि पक्राउ गरेको थियो।