यस्तो छ माओवादी एकताका तय गरिएका ७ आधार

चैत्र ९,काठमाडौं- एमाओवादी र नेकपा-माओवादीबीच एकताका लागि गठित वार्ता कमिटीको पहिलो बैठकले छलफल अगाडि बढाउने ७ आधार तय गरेको छ । नेकपा-माओवादी केन्द्रीय कार्यालय, बुद्धनगरमा सम्पन्न बैठकले सैद्धान्तिक, राजनीतिक आधारहरू तयार गरेको हो ।

एकताका आधारहरूमा मालेमावादको रक्षा, प्रयोग र विकासको कार्यान्वयन, नेपाली क्रान्तिको स्वरूप, रणनीति, कार्यनीति र विकास, संसदवाद र संसदको उपयोगबारे बुझाइ र प्रयोगसम्बन्धी छन् । सामाजिक क्रान्ति र रूपान्तरण लागि बल प्रयोगको सिद्धान्तको स्वरूप, प्रयोगको बुझाइ र कार्यान्वयन, विगतमा भएका गल्ती, कमीकमजोरीको ठोस मूल्यांकन गरी सच्याउने, पार्टी सञ्चालनका सन्दर्भमा निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा जनवादी केन्द्रीयताको बुझाइलगायत आधार तय गरिएका छन् । तात्कालिक कार्यनीति पनि अझ मूर्त बनाई कार्यान्वयन गर्ने सन्दर्भमा छलफल चलाउने बैठकको निष्कर्ष छ ।
छलफलमा एमाओवादीतर्फका वार्ता टोली संयोजक अध्यक्ष पुष्पकमल दाहाल, सदस्यहरू वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी सहभागी थिए । नेकपा-माओवादीबाट वार्ता टोली संयोजक अध्यक्ष मोहन वैद्य, सदस्यहरू उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सहभागी थिए । नेकपा-माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार यिनै ७ आधारमा रहेर आगामी वार्ता अगाडि बढ्नेछ ।