शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि प्रधानमन्त्री कोइराला अस्वस्थ

चैत्र ६,काठमाण्डौ- प्रधानमन्त्री सुशील कोइराला शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि अस्वस्थ भएका छन्। केही दिनदेखि रुघाखोकीले च्यापेका कोइरालाको रगतमा अक्सिजनको मात्रा हुनुपर्नेभन्दा कम पाइएपछि उनले कृत्रिम अक्सिजन लिन थालेका छन्।
‘रुघाखोकीले गर्दा रगतमा अक्सिजनको मात्रा केही घटेको हो’, प्रधानमन्त्रीका निजी चिकित्सक करिवीरनाथ योगीले भने, ‘अहिले उहाँको स्वास्थ्य ठीक छ।’
कोइराला बिरामी परेपछि दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा डाकिएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा सारिएको थियो। केही दिनदेखि उनी कमजोर देखिएका थिए। ब्रोङ्काइटिसका पुराना बिरामी भएकाले मौसम परिवर्तन हुनासाथ उनलाई रुघाखोकीले समात्नु सामान्य भएको डा. योगीले बताए।
रगतमा अक्सिजनको मात्रा बुधबार केही कम पाइए पनि बिहीबार बिहान असोचनीय रूपमा कम देखिएको थियो। त्यसपछि योगी नेतृत्वको चिकित्सक टोलीले बालुवाटारमै पुगेर उनको स्वास्थ्य परीक्षण गरेको थियो।
परीक्षणमा मेसिनले अक्सिजनको मात्रा अनुमान गरेभन्दा धेरै कम देखाएपछि चिकित्सकहरूले मेसिनमा नै गडबडी हुनसक्ने आशंका गरेका थिए। ‘अक्सिजन मापन यन्त्रमा समस्या देखिएकाले मात्रा ठीक नदेखिएको रहेछ’, योगीले भने, ‘मेसिनको ब्याट्री फेरेपछि अहिले ठीक छ।’
चिकित्सकले कोइरालालाई केही दिन आराम गर्न सुझाव दिएका छन्। उनको सुख्खा खोकी अझै घटेको छैन। छ महिनाअघि अमेरिकामा उपचार गराएर फर्किएका कोइरालाको फलोअप उपचारका लागि त्यहाँका चिकित्सकले दिएको समय फागुन मसान्तमा सकिएको छ।
उनले फलोअपका लागि अमेरिका जाने/नजाने अझै कुनै निर्णय लिएका छैनन्। चिकित्सकले अमेरिका आउन समस्या परे भारतको मेदान्त अस्पतालमा फलोअप उपचार गराउन पनि सकिने सुझाएका थिए।
कोइरालाको अमेरिकामा फोक्सोको क्यान्सरको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि उनलाई त्यहाँका चिकित्सकले दिएको औषधि पनि सकिएको छ।
‘उहाँको औषधि पनि सकिएको छ। फलोअपको पनि समय भई नै सकेको छ’, कोइराला निकट स्रोतले भन्यो, ‘तर फलोअपमा कहिले र कहाँ जाने भन्ने अझै टुंगो लागेको छैन।’
अहिले राजनीतिक अवस्था तरल भएको र पार्टीको तेह्रौं महाधिवेशन पनि नजिकिँदै गरेकाले सकभर वैशाखमा फलोअप उपचारका लागि अमेरिका गएर फर्कने सोचाइमा कोइराला पुगेको स्रोतको दाबी छ।
संविधान निर्माणको अन्योल, संविधानसभाभित्रको गतिरोधलगायत राजनीतिक घटनाक्रमका कारण कोइरालाले फलोअप उपचारका लागि अमेरिका जाने तिथि तय गर्न सकेका छैनन्।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले फेरि तीनदिने हडतालसहित दोस्रो चरणको आन्दोलन घोषणा गरेपछि कोइराला छिटै उपचारमा जानसक्ने अवस्थामा देखिँदैनन्।
उनका सल्लाहकारले पनि एकपटक फलोअप उपचार गराउन शल्यक्रिया गरेको न्युयोर्कस्थित सलोन क्याटरिन क्यान्सर केन्द्रमै जान सुझाव दिँदै आएका छन्।
केही सहयोगीले त न्युयोर्क जान न याएमा मेदान्तमा फलोअप उपचारमा जान पनि सुझाएका छन्।
कोइरालाको गत असारमा उक्त अस्पतालमा क्यान्सरको शल्यक्रिया भएपछि असोजमा पहिलो फलोअप उपचार गराउन र राष्ट्रसंघीय सभामा भाग लिन उनी न्युयोर्क गएका थिए।