प्यूठानमा बम विस्फोट हुँदा एकको मृत्यु

चैत्र ५, प्यूठान- प्यूठानमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओखरकोट–५ आहालखोलामा आज दिउँसो २ बजेपछि बम विस्फोट हुँदा स्थानीय ६५ वर्षीया नमाकुमारी पोख्रेलको मृत्यु भएको हो । घटनामा एक जनाको मृत्यु भए पनि अन्य क्षति नभएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

जङ्गलबाट दाउरा लिएर घरतर्फ आउँदै गर्दा पोख्रेलको बारीमा विस्फोट भएको र उनको मृत्यु भएको स्थानीय हिमाल एमसीले बताए । द्वन्द्वकालदेखि लगातार खेती गर्दै आएको बारीमा विस्फोट भएकाले घटनाका बारेमा अनुसन्धान सुरु भएको उपरीक्षक कार्कीले बताए । खेती गर्दै गरेको र दैनिक हिँड्डुल गर्ने स्थानमा विष्फोट भएकाले घटना रहस्यमय भएको आफन्तहरुको भनाइ छ । विस्फोट हँुदा उहाँका परिवारमा वृद्ध दम्पत्ती मात्रै रहेको एमसीले बताए । अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्, प्रहरी प्रमुख कार्की र जिल्लास्थित सरोकारवाला निकाय जाँदै छन् ।