विपक्षी मोर्चा वार्तामा नआए प्रक्रियाबाटै संविधान जारी गरिने -देउवा

चैत ४,पोखरा- पूर्व प्रधामन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रम छोडेर वार्तामा आउन एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चासँग आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विपक्षी मोर्चा वार्तामा नआए प्रक्रियाबाटै संविधान जारी गरिने चेतावनी दिए ।
आफूले भनेका कुरा माने सहमति हुने नत्र सहमति नहुने अहम् एमाओवादीले छाड्नुपर्ने उनको भनाइ थियो ।
संविधानका अन्तरवस्तुमा सहमति जुटाउन सत्ता पक्षले धेरै समय पर्खेको बताउँदै वरिष्ठ नेता देउवाले अब भने धेरै पर्खन नसकिने विचार व्यक्त गरे ।
वरिष्ठ नेता देउवाले एमाओवादीले संविधानसभा छोड्दै छोड्दैनन् भन्ने विश्वास व्यक्त गरे । उनले एमाओवादीले संविधान बनाएपछि मात्रै संविधानसभा छाड्ने बताए ।
उनले विगतमा कैलाली, कञ्चनपुरलाई सेती–महाकालीमै राख्ने र आवश्यक परे जनमत सङ्ग्रह गर्न मुख्य तीन दलका अध्यक्ष सहमत भएका हुन् भन्दै आवश्यक परे जनमत सङ्ग्रहमा जान सकिन्छ भन्ने सहमत समेत भएको खुलासा गरे ।