जुम्ला दुर्घटनाका सबै मृतकको सनाखत, घाइतेको उपचार जारी

चैत २, जुम्ला – आज बिहान जुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहाक बसको दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ ।ना ४ ख ४९७० नम्बरको बस दुर्घटनामा ज्यान गुमाएका सवै १८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेमा जुम्लाको महावै पातरखोला गाविस–९ का २१ वर्षीया देवु रोकाया, उनका नाम नखुलेका तीन महिनाका छोरा, सोही वडाका १४ वर्षीय जितेन्द्र अधिकारी, कालिकाखेतु गाविस–९ का ३५ वर्षीय रतन शाही, सनिगाउँ गाविस–८ का २५ वर्षीय चालक सागर बुढा, सोही गाविस–२ का ५२ वर्षीय लालविरे शाही र उनका ६ वर्षीय छोरा विजय शाही, सोही गाविस–५ का ४२ वर्षीया रती रोकाया, खराकोट गाविस–६ का २६ वर्षीय राजबहादुर बुढा, बड्की गाविस–९ का ४० वर्षीया पम्फादेवी रावत, सोही वडाका २० वर्षीय पुष्पराज आचार्य, सोही वडाकै ११ वर्षीय बिजु रोकाया, तातोपानी गाविस–४ का सह–चालक १७ वर्षीय रण कामी र कालिकाखेतु गाविस–१ का २० वर्षीया धनलक्ष्मी न्यौपाने रहेका छन् । त्यस्तै, कालिकोट जिल्ला फुकोट गाविसका २५ वर्षीय नवराज तिरुवा, कालिकोटकै फोइमहादेव गाविस–४ का ५५ वर्षीया काली बुढा, सोही वडाकै ५० वर्षीया रेशमकला बुढा र सोही वडाकै अर्का सह–चालक २५ वर्षीय हर्क बुढाको ज्यान गएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका १८ जना मध्ये जुम्ला सनिगाउँ गाविस–९ का २४ वर्षीया हिमाली रोकाया, सोही वडाका ३५ वर्षीया शिवकली रोकाया र चन्दननाथ नगरपालिका–९ का ४६ वर्षीय कलिमान सार्कीलाई उपचारका लागि हेलिकप्टरमा वाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी निरीक्षक ईन्द्र बहादुर साउदले जानकारी दिए । अन्य घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसमा २९ जना सवार रहेको बताइएको छ ।