ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री कोइरालाको आग्रह

चैत २, काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले ढुक्क भएर लगानी गर्न चिनियाँ थ्री गर्जेजका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेका थ्री गर्जेजको प्रतिनिधिमण्डलाई उहाँले पश्चिम सेती जलविद्युत् आयोजना नेपालको लागि महत्वपूर्ण भएकाले खुला हृदयका साथ लगानी गर्न आग्रह गर्नुभएको हो ।
सरकारले भारतसँग विद्युत् व्यापार सम्झौता(पिटिए) गरिसकेको, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनले यस क्षेत्रमा विद्युत् व्यापारको ढोकासमेत खोलेको सन्दर्भ जोड्दै प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक विकासको आधार जलविद्युत् नै भएकाले लगानीका लागि चिनियाँ पक्षलाई अनुरोध गर्नुभएको थ्री गर्जेजका स्थानीय प्रतिनिधि प्रविन श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
चिनियाँ पक्षले प्रधानमन्त्री कोइरालालाई लगानीको सहज वातावारण बनाइदिन आग्रह गर्दै आफूहरु नेपालको आर्थिक विकासमा सहयोग गर्न तयार रहेको बताएको थियो ।
नेपालमा लगानीका लागि आफूहरु इच्छुक रहेको उल्लेख गर्दै थ्री गर्जेजका अध्यक्ष लु चुनले नेपाल चीनको छिमेकी मात्र नभई असल मित्र भएकाले अत्यन्तै उत्साहका साथ सो परियोजनालाई अगाडि बढाउन चाहेको बताउनुभएको थियो ।
आयोजनामा प्रारम्भिक काम गर्नुपूर्व वैदेशिक ऋण स्वीकृत र परियोजना विकास सम्झौता (पिडिए) प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेको श्रेष्ठले बताउनुभयो ।
थ्री गर्जेजको प्रतिनिधिमण्डलले आजै ऊर्जा मन्त्री राधा ज्ञवाली र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तसँग पनि सो आयोजना अगाडि बढाउने विषयमा छलफल गरेको थियो ।