श्रीलंकाद्वारा स्कटल्याण्ड १ सय ४८ रन पराजित

फागुन २७,काठमाडौँ – विश्वकप क्रिकेटमा श्रीलंकाले स्कटल्याण्डलाई हराएको छ । यसअघि नै क्वाटर फाइनलमा स्थान बनाइसकेको श्रीलंकाले बुधबार भएको खेलमा स्कटल्याण्डलाई १ सय ४८ रनको फराकिले अन्तरले हराएको हो ।

३ सय ६४ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डलाई श्रीलंकाले ४३ दशमलव १ ओभरमा २ सय १५ रनमा अलआउट गर्‍यो । स्कटल्याण्डका फ्रेड्डि कोलम्यानले ७० तथा प्रेष्टोन मम्सेनले ६० रन बनाएपनि टीमलाई जिताउन सकेनन् । श्रीलंकाका लागि नुवान कुलशेखरा र दुस्मन्त चमिराले तीन तीन तथा लासिथ मालिंगाले दुइ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ्ग गरेको श्रीलंकाले कुमार सांगाकारा तथा तिलकरत्ने दिल्सानको शतकको मद्दतमा ५० ओभरमा ३ सय ६३ रन बनाएको थियो । सांगााकाराले १ सय २४ तथा दिल्सानले १ सय ४ रन बनाए भने कप्तान एन्जेलो म्याथुजले ५१ रनको योगदान गरे । आज शतक प्रहार गरेसंगै कुमार सांगाकाराले एकदिवसीय क्रिकेटमै विश्व कीर्तिमान बनाएका छन् ।
श्रीलंकासँग पराजित स्कटल्याण्डले जारी विश्वकपमा एउटा पनि खेल जितको छैन । उसले समूह चरणको अन्तिम खेल अष्ट्रेलियासँग खेल्न बाँकी छ ।