अबदेखि शुक्रबार ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा यात्रा गर्ने

फागुन २७, काठमाडौँ-महानगरिय ट्राफिक प्रहरी महाशाखामा कार्यरत सबैतहका प्रहरी कर्मचारीले फागुन २९ गतेदेखि हरेक शुक्रबार सार्वजनिक सवारीमा यात्रा गर्ने भएका छन् । ट्राफिक प्रहरी कर्मचारीले कार्यालय आउँदा र कार्यालयबाट घर वा डेरा फर्किँदा हरेक शुक्रबार अनिवार्य रुपमा सार्वजनिक सवारी साधनको प्रयोग गर्ने जनाएको छ ।

ट्राफिक प्रहरीको अनुगमन र चेकिङको दायरा फराकिलो गर्न यस्तो नियम कडाइका साथ लागु गर्न लागेको बताइएको छ । जसका कारण सार्वजनिक यातायातमा हुनसक्ने वेथिति र ट्राफिक नियम उलङ्घनमा कमी आउने, सार्वजनिक सवारी साधनमा यात्रुमैत्री वातावरणको सिर्जनामा टेवा पुग्ने, सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुप्रतिको परम्परागत गलत र विकृत मनोविज्ञानमा परिवर्तन आउने अपेक्षा ट्राफिक प्रहरीले लिएको छ ।