दुई चरणमा भावी रणनीति तय गर्दै विपक्षी मोर्चा

फागुन २६,  काठमाडौँ  -सहमतिका लागि सत्तासाझेदार दलहरु गम्भीर नभएको भन्दै एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले भावी रणनीतिको बारेमा आज छलफल गर्ने भएको छ । रणनीतिको बारेमा छलफल गर्न मोर्चाले दुई ओटा छुट्टाछुट्टै बैठक बोलाएको छ । दुबै बैठकमा दोस्रो चरणको आन्दोलनको स्वरुप र अहिलेसम्म भएका वार्ताको बारेमा छलफल हुने एमाओवदाीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार काङ्ग्रेस–एमाले लगायतका दल वार्ता र सहमतिका लागि तयार नभएपछि मोर्चाले अवको योजनाको बारेमा  छलफल चलाउन थालेको हो । बिहान ११ बजे ७ दलीय संघीय गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ भने दिउँसो २ बजेपछि ३० दलीय विपक्षी मोर्चाको बैठक बोलाइएको छ ।

दुवै बैठक एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने पनि नेता कर्णले जानकारी दिनुभयो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरे पनि वार्ताको ढोका भने खुला राख्ने बारेमा छलफल गर्ने जनाइएको छ ।