प्रमुख दलका शीर्ष नेताहरुको सम्वाद पुनः अड्कियो

फागुन २६ , काठमाडौं – डेढ महिना लामो संवादहीनता तोड्दै संविधानमा सहमति जुटाउन निरन्तर छलफलमा बस्ने सहमति गरेका प्रमुख चार शक्तिका दोस्रो बैठक तीन दिनसम्म बस्न सकेको छैन ।एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भन्दै बैठकमा नआउँदा छलफल सुरु हुन सकेको छैन ।

सत्तारुढ नेपाली कांग्रेस,नेकपा एमाले र विपक्षी एमाओवादी नेतृत्व मोर्चाले शनिबार संविधानका प्रमुख विवादित विषयमा चार शक्तिका चार शीर्ष नेताबीच छलफल गरी सोमबार साँझसम्म सहमतिमा पुग्ने सहमति गरेका थिए ।
स्रोतका अनुसार संविधानसभामा सुरु भएको बहुमतीय प्रक्रिया रोकेर पुनः सहमति प्रयास थाल्ने दलीय निर्णयप्रति एमाले अध्यक्ष ओली असन्तुष्ट छन् । स्वास्थ्यलाई कारण बनाउँदै ओली शीर्ष बैठकमा बस्न तयार नहुँदा चार नेता एक ठाउँ भेला हुन समेत सकिरहेका छैनन् ।
‘एमाले अध्यक्ष ओली अस्वस्थ भएकाले प्रमुख चार शक्तिका शीर्ष नेताको बैठक बस्न नसकेको हो,’ कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने,‘चार नेताले वार्ताबाट संविधानका विवादित विषयमा सहमति खोज्नुपर्छ ।’