एमाले नेता नेपालले भने–राजासँगको सहमति खोज्न गिरिजाप्रसादलाई भेट्न जानु

फागुन २६ , काठमाडौं – एमाले नेता माधवकुमार नेपालले पूर्वराजा र दलहरुसँग सहमति भएको दाबी गर्नेहरुले बास्तविकताबारे गिरिजाप्रसादलाई सोध्न उतै स्वर्गमा जान सुझाव दिएका छन् ।

सोमबार वीरेन्द्रनगरमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले सहमति भएको रटान लगाइरहनुभन्दा वास्तविकता छिटो पत्ता लगाउन गिरिजालाई भेट्न पुग्नुपर्ने बताएका हुन् ।
त्यतिबेलाको सहमतिमा आफू र गिरिजाप्रसाद कोइराला भएको भन्दै नेता नेपालले सहमति भएको दाबी गर्नेहरु कि आफूकहाँ आउनुपर्ने कि त छिटो गिरिजालाई भेट्न जानुपर्ने बताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र दलहरुबीच गोप्य सहमति भएको दाबी गर्दै आइरहेका छन् ।
नेता नेपालले सहमति दुई पक्षबीच हुने भएकाले त्यसलाई देखाउन चुनौती दिँदै पूर्वराजासँग कुनै पनि सहमति नभएको दाबी गरे ।