प्रधानमन्त्री र अध्यक्ष दाहाल बीच जेठ १५ गते संविधान जारी गर्ने सहमति

फागुन २५, काठमाडौं – प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जेठ १५ गते संविधान जारी गर्ने गरी प्रमुख दलहरुबीच सहमति जुटाउन तत्काल वार्ता अगाडि बढाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको वार्तामा गणतन्त्र दिवस पारेर संविधान जारी गर्ने सहमति बनेको हो । प्रमुख दलहरुबीच औपचारिक वार्ता सुरु भएको भोलिपल्टै प्रधानमन्त्री र प्रमुख विपक्षी नेताबीच यस्तो सहमति भएको हो ।
कोइराला र दाहालबीच एक घण्टा कुराकानी भएको थियो । त्यस अवसरमा दलहरुबीच दुई पक्षीय, बहुपक्षिय वार्ताहरु गर्दै संविधानका विवादित मुद्दालाई किनारा लगाउनेबारे पनि कुरा भयो ।
त्यस अवसरमा कोइरालाले आफू सहमतिमा संविधान जारी गर्न तत्पर रहेकाले सहमति खोज्न नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
शनिबार सत्ताधारी दल र विपक्षी मोर्चाबीच भएको वार्तामा संविधानमा सहमति खोज्ने जिम्मा कोइराला, प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र मधेसी मोर्चाका संयोजक विजय गच्छदारलाई दिइएको थियो ।