सरकार र विपक्षीको औपचारिक वार्ता भोली विहान वालुवाटारमा बस्ने

फागुन २२ , काठमाडौँ  –  संविधान निर्माणका क्रममा लामो समयसम्म अलमलिएका दलहरु भोलिदेखि औपचारिक वार्तामा बस्ने भएका छन् । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा विहान भएको छलफलमा भोलीदेखि औपचारिक वार्ता गर्ने निर्णय भएको हो ।

छलफलपछि अध्यक्ष दाहालका स्वकिय सचिव चुडामणि खड्काले भोलि विहान ३० दलीय विपक्षी मोर्चा र सत्तापक्षीय दलको संयुक्त बैठक बस्ने जानकारी दिनुभयो । खड्काका अनुसार प्रधानमन्त्रीसंगको छलफलमा संविधान निर्माणमा देखिएका असहमतिका विषयमा भोलि देखि संयुक्त छलफल गर्न दुबै नेता सहमत भएका हुन् ।

विपक्षी मोर्चाको हिजोको बैठकले सत्ता पक्षसग विनासर्त औपचारिक वार्ता गर्ने निर्णय गरेसगै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको हो । संविधानका अन्तरवस्तुमा देखिएका विवादलाई प्रक्रिया मार्फत अघि बढाइएको भन्दै विपक्षी मोर्चा सडकमा ओर्लिएपछि दलीय छलफल ठप्प भएका थिए । दलहरुवीच सहमतिका लागि भन्दै माघ २९ गते यता स्थगित गरिएको संविधानसभाको बैठक समेत बस्न सकेको छैन ।