कास्की दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

फागुन २२ , काठमाडौँ कास्कीको सराङ्कोटमा भएको बस दुर्घटनामा परी मृत्यु हुने यात्रुको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते कास्कीकोटकी ५५ वर्षीया भीमा केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग १ ख ४८४९ नम्बरको बस आज बिहान सराङ्कोटको मगरगाउँमा दुर्घटना भएको हो । यो दुर्घटनामा अन्य ५२ जना घाइते भएका छन् । जिप्रका कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालकाअनुसार दुर्घटनामा परी मृत्यु हुने अन्य यात्रुमा कास्कीकोट काउलेका ५० वर्षीय हरिबहादुर खत्री, सोही ठाउँका ४० वर्षीया गोमा लुइँटेल, पोखरा उपमहानगरपालिका–२६ का ५० वर्षीय लेखबहादुर ढकाल, सोही ठाउँका ४५ वर्षीया तारा थापा र १६ वर्षीय दिवस तिमल्सिना रहेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेका छन् । घाइते भएका पोखरा उपमहानगरपालिका–२६ का आठ महिनाका एलिस थापा, सोही स्थानका १८ वर्षीय सुमन थापा र २५ वर्षीय दिनबहादुर ढकाल तथा सोही उपमहानगरपालिका–६ का २५ वर्षीया सविता खड्कालाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरी उपरीक्षक पालले बताए । अन्य घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइन्छ । बस सडकबाट १५० मिटर तल खोल्सामा खसेको जिप्रकाले जनाएको छ ।