स्वाइन फ्लु संक्रमित थप दुईको अवस्था गम्भीर

फागुन २२, काठमाडौं-स्वाइन फ्लुबाट संक्रमित दुईजना बिरामीको अवस्था गम्भीर भएपछि राजधानीस्थित एक अस्पतालमा उपचार सुरु गरिएको छ। अस्पतालमा भर्ना हुनेहरू काठमाडौंका बासिन्दा भएको स्रोतले जानकारी दियो। यसअघि उक्त संक्रमणका कारण शनिबार राति काठमाडौंकी ४८ वर्षीया एक महिलाको उपचारका क्रममा ज्यान गएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एक बिरामीको अवस्थामा पनि सुधार आउन नसकेको अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले बताए।

सोमबार थप पाँचजनामा स्वाइन फ्लु संक्रमण पुष्टि भएको छ। यो वर्ष स्वाइन फ्लुबाट बिरामी हुनेको संख्या ४८ पुगेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। गीता शाक्यले बताइन्। स्वाइन फ्लु संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मुख्यसचिव लीलामणि पौड्यालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायलाई संयम र सतर्क हुँदै शंकास्पद बिरामीको उपचारमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।