सरकारी दरभन्दा आधा मात्र भाडा घट्ने

फाल्गुन २१, काठमाडौं-सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक महिनापछि मात्र यातायात व्यवसायीले निर्णय गरेभन्दा आधा मात्र भाडा घटाउने तयारी सुरु गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार बसेको बैठकले सरकारले निर्णय गरेभन्दा आधा भाडा घटाउने निर्णय गरेको हो । सरकारले न्यूनतम भाडा चार किमीमा रु १३ मात्र लिन पाउने निर्णय गरेकामा व्यवसायीले भने रु १४ न्यूनतम भाडा लिने निर्णय गरेका छन् । सरकारी भाडादर अनुसार यसअघि नै न्यूनतम भाडा रु १४ हुनुपर्ने थियो ।
वैज्ञानिक भाडा पद्धतिअनुसार रु १४ न्यूनतम भाडा लिने निर्णय गरिएको महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।  “सरकारले निर्णय गरेअनुसार सार्वजनिक सवारी साधनमा २।०३ प्रतिशत भाडा घटाउने निर्णय गरिएको र १४ वटै अञ्चलका यातायात व्यवसायीलाई निर्देशन जारी गरिएको उनको भनाई छ । मालवाहक सवारीसाधनतर्फ तराईमा ५।२८ प्रतिशत, पहाडी जिल्लामा ४।३७ प्रतिशत र ट्याक्सीमा प्रतिकिलोमिटर रु ३६ भाडा कायम गरिएको महासङ्घले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ । महासङ्घले यो भाडादर फागुन २३ गतेदेखि लागू गर्न निर्देशन दिइएको पनि महासचिव सिटौलाले बताए ।

पेट्रोलियम पदार्थमा पटक पटक भाउ घटेपछि सरकारले माघ २६ गते सार्वजनिक सवारीसाधनमा भाडा घटाउने निर्णय गरेको थियो । सरकारले निर्णय गरेको तीन हप्तासम्म पनि यातायात व्यवसायीले भाडा नघटाएपछि फागुन १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी भाडा घटाउने निर्णय सार्वजनिक गरेको थियो । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भाडा नघटाउने यातायात व्यवसायीलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गर्ने तयारी गरेपछि बुधबार बसेको महासङ्घ बैठकले आधा मात्र भाडा घटाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले भने सरकारले निर्णय गरे अनुसार न्यूनतम भाडादर रु १३ हुनुपर्ने जनाएको छ । “सरकारले निर्णय गरेअनुसार न्यूनतम भाडादर रु १३ सहित सबै भाडादर व्यवसायीले पालना गर्नुपर्छ”–विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले भने ।