स्वाइन फ्लुका कारण अनिश्चितकालका लागि विद्यालय बन्द

फागुन १८, गोरखा -एक पछि अर्को विद्यार्थी छटपटाएर ढल्न थालेपछि गोरखाको बिरेञ्चोकमा रहेको रत्नराज्य उमावि बन्द भएको छ । आइतबार बिहान १० बजे प्रार्थना सभा सकेर कक्षा कोठाभित्र पढ्न पुगेका छात्रछात्रा छट्पटाएर ढलेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो ।
बिरामी विद्यार्थीको गोरखा जिल्ला अस्पतालमा उपचार गराउँदा चिकित्सकहरुले सरुवा रोग भएको जनाएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक ध्रुव श्रेष्ठले बताए । बिरामी विद्यार्थीलाई स्वाइन फ्लु रोग लाग्दा देखिने अधिकांश लक्षणहरु देखिएको जिल्ला अस्पताल गोरखाका चिकित्सक नारद थपलियाले जानकारी दिए ।

आवश्यक साधन नहुँदा के रोग लागेको हो भन्ने यकिन हुन नसकेको भन्दै डा थपलियाले विद्यार्थीको स्वास्थ्य जाँचको प्रतिवेदन नेसनल ल्याब काठमाडौँमा पठाएको बताए । विद्यालयले जिल्ला शिक्षा कार्यालय गोरखासँग अनुमति लिएर अनिश्चितकालका लागि विद्यालय बन्द गरेको जनाएको छ । कक्षा १० मा पढ्दै आएका छजना छात्रा र पाँचजना छात्र बिरामी भएको विद्यालयले जनाएको छ । बिरामी भएका अधिकांश विद्यार्थी १६ वर्षका छन् । उनीहरुको नाम भने गोप्य राखिएको छ । स्वाइन फ्लुको हल्लामात्रै भएकाले आत्तिनु नपर्ने जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । मौसम परिवर्तन भएकाले रुघा, खोकी लाग्नु सामान्य भएको चिकित्सकले बताएका छन् ।