स्वाइन फ्लूका कारण काठमाडौंमा एक महिलाको मृत्यु

फागुन १७, काठमाडौं -पछिल्लो समय भारत हुँदै नेपाल प्रवेश गरेको स्वाइन फ्लूले महामारीको रुप लिइरहेका बेला काठमाडौँमा एक महिलाको मृत्यु भएको छ । संक्रमितको संख्या बढ्दै जादा राजधानीको मोडल अस्पतालमा उपचाररत ५० बर्षिया ति महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय, रोग नियन्त्रण महाशाखाले जनाएको छ । एक साताअघि भर्ना भएकी दमको रोगी समेत रहेकी ती महिलाको शनिबार साँझ मृत्यु भए पनि अस्पतालले आज मात्रै सार्वजनिक गरेको हो ।

अघिल्लो वर्ष फ्लूका कारण १८ जनाले ज्यान गुमाएपनि यो वर्ष फ्लूबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो । भारतमा स्वाइन फ्लूबाट करिव ९ सय मनिसले ज्यान गुमाइसकेका छन् भने ८ हजार मानिसमा संक्रमण भेटिएको बताइएको छ ।
भारतमा फ्लूको संक्रमण बढ्दै जाँदा खुला सिमाना भएको नेपाल पनि सतकर्ता अपनाउन सरकारले यसअघि नै निर्देशन दिएको थियो । यसबाहेक पनि मुलुकभरका विभिन्न स्थानमा स्वाइन फ्लु आतंकका रुपमा नै देखिएको छ ।