केपी ओलीले बुझुन् खुलामञ्चको हरेक मान्छे नेपाली हो, यूपी र विहारबाट आएको होइन- मधेसी नेताहरु

फागुन १६,काठमाडौँ -तमलोपा उपाध्यक्ष हृदयश त्रिपाठीले तीस दलको सभामा भाग लिन आएका जनताहरू भारतको युपी र बिहारबाट नआएको बताएका छन् । ३० दलीय मोर्चाको जनसभामा सम्बोधन गर्दै त्रिपाठीले सहभागीहरु नेपाली नागरिक नै भएकोले विहारबाट आएको भनेर भ्रममा नपर्न कांग्रेस(एमालेलाई आग्रह गरेका हुन् । त्रिपाठीले भने,‘ केपी ओलीले यो कार्यक्रम हेरिरहेका होलान्। यो कार्यक्रममा आएका मधेसी यूपी र विहारबाट आएका होइनन। अर्का नेता सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस–एमालेलाई बेइमानको संज्ञा दिएका छन् ।

३० दलीय मोर्चाको खुलामञ्चको जनसभालाई सम्बोधन गर्दैै अध्यक्ष महतोले कांग्रेस–एमालेले झुटको खेति गरेर जनतासँग बेइमानी गरेको आरोप लगाए । ‘नेपाली जनतालाई एक थान संविधान दिने नाममा सत्तारुढ दलले झुटको खेति गरे’, महतोले भने, ‘सम्झौता पालना गर्न नेपाली जनताले कांग्रेस–एमालेलाई बहुमत दिएका हुन् ।’ मधेस आन्दोलनपछि भएको सहमतिमा एक मधेस प्रदेश दिन्छु भनेर गरेको सम्झौता कांग्रेस–एमालेले तोडेको आरोप लगाउँदै महतोले उल्टो दिमाग भएकाहरुले गर्दा समस्या भएको दाबी गरे ।