तेजाब हान्नेको नाम दिनुस् क्षणभरमा नै कारवाही हुन्छ -प्रम कोइराला

फागुन १५, काठमाडौँ -प्रधानमन्त्री सुशिल कोइरालाले तेजाब आक्रमणमा परेका किशोरीलाई आक्रमणमा संलग्न व्यक्तिको नाम भनिदिन आग्रह गरेका छन् । शुक्रबार विहान बालुवाटारस्थित निवासमा विभिन्न विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कोइरालाले पीडित किशोरीले परिचय दिन नमानेका कारण आक्रमणकारी पक्राउ पर्न नसकेको बताए ।

किशोरीहरुले चिनेको छैन भनेका कारण प्रहरीलाई आक्रमणकारीको पहिचान गर्न गाह्रो परिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।गत आइतबार काठमाडौको वसन्तपुरस्थित एक ट्युसन सेन्टरको कक्षाकोठामा पढिरहेको अवस्थामा सीमा बस्नेत र संगिता मगरमाथि तेजाब छयापिएको थियो ।

घटना भएको ६ दिन हुँदा पनि प्रहरीले आक्रमणमा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।प्रधानमन्त्री कोइरालाले आक्रमणमा संलग्नलाई सख्त कारवाही गर्न सरकार तयार रहेको तर त्यसका लागि आक्रमणकारीको बारेमा किशोरीहरुले जानकारी दिएर सहयोग गर्नुपर्ने बताए ।