दक्षिण अफ्रिकाले चखायो वेस्ट इन्डिजलाई लज्जास्पद हार

फागुन १५, काठमाडौँ – विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाले वेस्ट इन्डिजबिरुद्ध २५७ रनको फराकिलो अन्तगरको कीर्तिमानी जीत हासिल गरेको छ । शुक्रबार सिड्नी क्रिकेट ग्राउन्डमा भएको खेलमा हात पारेको यो जित विश्वकपको सबैभन्दा ठुलो अन्तरको जीतसँग बराबरी हो । यसअघि २००७ को विश्वकपमा भारतले बर्मुडाबिरुद्ध पनि २५७ रनको फराकिलो अन्तरको जीत दर्ता गराएको थियो । पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले कप्तान एबी डिभिलियर्सको कीर्तिमानी नटआउट १६२ रनको मद्दतमा ४०८ रन जोडेको थियो । यो स्कोर अष्ट्रेलियामा बनेको सबैभन्दा बढि हो । ४०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३३।१ ओभरमा १५१ रनको झिनो योगफलमा अलआउट भयो । वेस्ट इन्डिजको लागि कप्तान जासन होल्डरले सबैभन्दा बढि ५६ रन बनाए ।ओपरन ड्वाइन स्मीथले ३१ रन जोड्नुअघि अर्को ओपनर क्रिस गेल ३ रनमा आउट भए । लगत्तै मोर्लोन स्यामुयल्स शून्य रनमा पेभिलियन फर्केपछि वेस्ट इन्डिजको विकेट पतन सुरु भएको थियो ।