पूँजीगत खर्च ९३ प्रतिशत हुने सरकारको अनुमान

फागुन १२,काठमाडौं-सरकारले चालु आर्थिक वर्षमा कुल विनियोजनको ९३ प्रतिशत पूँजीगत खर्च हुने अनुमान गरेको छ । अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दै पुस मसान्तसम्म बजेट विनियोजनको तुलनामा खर्च भने अपेक्षित हुन नसके पनि गत वर्षको तुलनामा भने वृद्धि हुने उल्लेख गरेको छ ।

अर्थमन्त्री डा रामशरण महतका अनुसार हालसम्म पूँजीगत खर्चमा त्यति उत्साहजनक नभए पनि ठूला पूर्वाधारको ठेक्कापट्टा भई काम सुरु भएको, निर्माणका लागि मौसमी अवस्था अनुकूल हुन सुरु भएको र विगतको प्रवृत्तिका आधारमा आगामी छ महिनामा त्यस्तो खर्च बढ्नेछ ।

यस आवमा कुल रु पाँच खर्ब ५८ अर्ब ४३ करोड १३ लाख खर्च हुनेछ, यो कुल विनियोजनको ९२।६३ प्रतिशत हो भने गत आवको यथार्थ खर्चभन्दा २८।५५ प्रतिशतले बढी हो । त्यसैगरी अर्ध वार्षिक अवधिसम्म कूल रु एक खर्ब ६१ अर्ब ८४ करोड ४० लाख मात्र खर्च हुन सकेको छ । जुन कुल विनियोजनको २६।२० प्रतिशत मात्र हो । चालुतर्फ विनियोजनको ३०।९५ प्रतिशत, पूँजीतर्फ १२।६० प्रतिशत र वित्तीय व्यवस्थातर्फ २३।१९ प्रतिशत खर्च भएको छ ।

विभिन्न मन्त्रालयले बजेट स्वीकृत भएपछि मात्र कार्यक्रम बनाउने प्रवृत्तिका कारण पूँजीगत खर्च बढ्न नसकेको बताउँदै अर्थमन्त्री डा महतले स्वीकृत योजनालाई सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थमन्त्री डा महतले पहिलोपटक लगातार दोस्रो वर्ष ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गरे । उनले समयमै बजेट पारित भएका, बन्द हडतालजस्ता क्रियाकलापमा कमी आएको र उद्योग तथा सेवा क्षेत्र विस्तार अर्थतन्त्रको संरचनात्मक पक्षमा सुधार भएकाले उद्योग र सेवा क्षेत्रको वृद्धिदर अनुकूल देखिएको जानकारी दिए ।
चालु आवमा मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुमान गरिकोमा अर्ध वार्षिक अवधिसम्मको औसत मुद्रास्फीति ७।३ प्रतिशत रही वार्षिक औसत मुद्रास्फीति लक्ष्यभन्दा कम रहने देखिएको बताउँदै उहाँले खाद्य र गैर खाद्य दुवै समूहको मुद्रास्फीति गत आवभन्दा कम रहेको उल्लेख गरे ।