राजमार्ग बन्द गराउनेलाई गृह मन्त्रालये कारवाही गर्ने

फागुन ११, काठमाडौं-जथाभावी आन्दोलनका  नाममा राजमार्ग तथा मुख्य व्यापारिक नाका बन्द गर्न खोज्नेहरुलाई  गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । पछिल्लो समय विभिन्न वहानामा वा मागमा राजमार्ग तथा मुख्य नाका बन्ध प्रयास तिब्र रुपमा बढ्दै आएको भन्दै गृहले यस्तो प्रावधान ल्याउन लागेको हो ।

विगत केही दिनदेखि नागरिकलाई सेवा सुविधा प्रदान गर्ने निकायको स्थापना गर्ने नेपाल सरकारको निर्णयको समर्थन र विरोधमा बारा जिल्लामा आन्दोलनको नाममा राजमार्ग तथा मुख्य व्यापारिक नाका बन्द गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ती निकालेर आवागमन नै बन्द गर्ने, राजमार्गमा अवरोध गरी आपूर्ति व्यवस्थालाई अवरुद्ध पार्ने, सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने, आन्दोलनका नाममा महिला, बालबालिका र वृद्धवृद्धालाई जबर्जस्ती सडकमा ल्याई शान्ति सुव्यवस्थालाई खलल पार्ने, सुरक्षाकर्मीलाई लक्ष्यित गरी ढुङ्गामुढा गर्ने जस्ता क्रियाकलापहरु गैरकानुनी भएकाले त्यस्तो कार्य नगर्न÷नगराउन अनुरोध गरेको छ । ।