काँग्रेसको पहिलो र अन्तिम शर्त संविधान : प्रम कोइराला

फागुन १०,काठमाडौँ प्रधानमन्त्री सुशील कोइरालाले नेपाली काँग्रेसले संविधान ल्यानकै लागि लामो समयदेखि राजनीतिक सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै जतिसुकै ठूलो मूल्य चुकाएर भए पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गरेका छन ।

आज धादिङको बैरेनीमा आयोजित गणेशमान सिंह बलिदान अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै पक्षको सहमतिमा संविधान जारी गर्ने प्रतिबद्धताअनुरुप साझा सहमति बन्न नसकेकाले माघ ८ मा संविधान जारी गर्न नसकेको स्वीकार गरे । उनले भने – देशमा शान्ति, लोकतन्त्र र स्थायित्वका लागि संविधान चाहिएको छ । देशलाई समृद्धिको बाटोमा अघि बढाउन र कृषि, पर्यटन, सडक, रेलवेलगायतका क्षेत्रमा विकास गर्न मैले जनतासँग शान्ति मागिरहेको छु ।

उनले भने “अहिले आन्दोलन होइन संविधान निर्माण र देश विकास गर्ने समय हो,” । आन्दोलनरत दलहरुतर्फ लक्ष्यित गर्दै उहाँले अहिले तर्साउने, थर्काउने र धम्काउने बेला नभएको बताए । नेपाली काँग्रेस धेरै दुःख सहेर यहाँसम्म आइपुगेको पार्टी हो भन्दै उनले जसले जतिसुकै आन्दोलनको धम्की दिए पनि संविधान ल्याएरै देखाउने दाबी गरे ।