भारतमा स्वाइन फुलुको संक्रमण बढ्दो

फागुन ९, काठमाडौँ- भारतमा स्वाइनफ्लुको महामारी फैलिँदै गए पनि नेपाल सरकारले भने कुनै सतर्कता अपनाएको छैन । खुल्ला सिमानाको कारण नेपाल स्वाइनफ्लुको उच्च जोखिममा छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता पदमबहादुर चन्दले सुरक्षाको उपायबारे ठोस तयारी नभए पनि उपचारको व्यवस्था मिलाइने बताए ।  रोग भित्रिहाले निजी तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था मिलाइने चन्दले बताउनुभयो । उहाँले स्वाइनफ्लुका विरामी पनि सम्पर्कमा नआएको जानकारी दिनुभयो ।

एकप्रकारको रुघाजस्तै लक्षण देखिने यो रोग हावाको माध्यमबाट एकअर्कामा सर्दछ । भिडभाडमा नजान, बाहिर निस्किँदा नाकमुख छोपिने मास्क प्रयोग गर्न र रुघा लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकहरुले सुझाव दिएका छन् । छिमेकी देश भारतमा स्वाइनफ्लुको संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न आज विशेष उपाय अपनाउने गरी नयाँ योजना ल्याईंदै छ ।

यसैबीच, काठमाडौंको विभिन्न स्थानमा रहेका बंगुर फार्ममा अज्ञात रोगका कारण बंगुर मर्न थालेका छन् । रोगबाट बंगुर मर्न थालेपछि लाखौं लगानी डुबेको भन्दै किसानहरु चिन्तित भएका छन् । बंगुरको दिशा, पिसाबमा रगत देखिने र उच्च ज्वरोका करण मरिरहेको गोकर्णका किसान वासुदेव राईले जानकारी दिनुभयो । करिब डेढ महिनादेखि बंगुरमा देखिएको रोक एन्टिवाइटिकले समेत निर्मूल पार्न नसकेको उहाँको भनाई छ ।