भारतको पेट्रोलियम तथा ग्यास मन्त्रालयमा चोर छिरेपछि….

फागुन ८,नयाँ दिल्ली- भारतको पेट्रोलियम मन्त्रालयमा सरकारी दस्तावेज चोरी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ। मन्त्रालयमा प्रवेश गरेर गोप्य दस्तावेजहरु चोरी गरेर लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । दिल्ली पुलिस कमिश्नर बीएस बस्सीका अनुसार १७ फेब्रुअरी राति तीन जनालाई मन्त्रालयको गोप्य दस्तावेजसहित पक्राउ गरिएको हो ।

शास्त्री भवनस्थित मनत्रालयबाट तीन जनालाई गोप्य सरकारी दस्तावेजसहित पक्राउ गरिएको बस्सीले बताए । चोरी गरिएका उक्त दस्तावेजको फोटोकपी ऊर्जा क्षेत्रका कम्पनीलाई बेच्ने गरिएको प्रहरीको दावी छ।
गिरफ्तार व्यक्तिहरुलाई चोरी, जालसाँची र सरकारी भवनमा गैरकानुनी रुपमा प्रवेश गरेको आरोपमा मुद्दा चलाइएको छ। प्रहरीले चोरीमा संलग्नलाई सहयोग गर्ने अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ।
उनीहरुले चोरी गरिएको सरकारी दस्तावेज किन्नेहरुको पहिचान पनि भइसकेको प्रहरीले जनाएको छ। उनीहरु चोरी गर्न नक्कली कागजात तयार पारेर शास्त्री भवनस्थित मन्त्रालयमा प्रवेश गरेका थिए । एजेन्सी