सहमतिका लागि युवा नेताहरु यस्तो प्रस्ताव तयार गर्दैछन्

फागुन ८, काठमाडौँ – प्रमुख तीन दल कांग्रेस एमाले र एकीकृत माओवादीका केही युवा नेता दुई दिनदेखि अनौपचारिक छलफलमा जुटेका छन् ।माघ ८ पछि संविधानसभा भित्रका क्रियाकालपले दलका मुख्य नेता तर्किने विच्किने र एक अर्काको सेखी नै झार्ने अभियानमा जुट्दा तिनै पार्टीका युवा नेता उनीहरुलाई मिलाउने नयाँ प्रस्ताव सहित सरसल्लाह गरिरहेको एमाले युवा नेता रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म करिव १५ पटक बैठक भइसकेको छ । राजधानीमा भइरहेको त्यस्तो छलफलमा पार्टीको केन्द्रिय तह, संविधानसभा भित्र र बाहिरका युवा नेताहरु सहभागी छन् । संविधानका विवादित अन्तर्वस्तुमा विषय केन्द्रित छलफल सुरु गरेका नेताहरुको गोप्य भेलामा वार्तामार्फत नै टुंगो लगाउने गरी केही समयका लागि संवाद समितिमा पठाउने, संघीयताका सवालमा छुट्टै आयोग बनाउने र प्रधानमन्त्रीलाई फेरि आह्वान गर्न लगाउने तीनथरी प्रस्ताव आएका छन् ।
निश्चित दिनमा टुंगो नलागे कसरी अघि जाने भन्ने विषयमा पहिले अहिले नै सहमति गर्नुपर्ने प्रस्ताव पनि छलफलमा छ । यी प्रस्तावबाट एउटा सहमतिको दस्तावेज बनाउने र शीर्ष नेताका अघि जाने युवा नेताहरुको तयारी रहेको कांग्रेस नेता नविन्द्रराज जोशीले जानकारी दिनुभयो ।
राजनीतिक निकासका लागि थालिएको प्रयास अहिलेसम्म सकारात्मक रूपमा अघि बढेको युवा नेताहरुको दावी छ । वार्ता र संवादले नै सहमति र संविधान दिने निस्कर्ष सहित युवा नेताहरु त्यसैको विकल्प तयार पारेर सबै नेतालाई बुझाउदैछन ।