ओली महाभिलेन, प्रधानमन्त्री सहायक भिलेन – महतो

फागुन ७, भैरहवा- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा राजनीतिक दलहरुसँग भएका सहमतिको लिखित प्रमाण देखाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिनु भएको छ ।

पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै विगतमा आफूसँग भएको सहमति कार्यान्वयन गर्न दलहरुलाई आग्रह गर्नुभएको थियो । सदभावना अध्यक्ष महतोले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा के सहमति भएको हो त्यसको लिखित प्रमाण ल्याउन अग्रह गर्दै हचुवाको भरमा सहमति भएको छ भन्न नमिल्ने बताउनुभयो । उहाँले ज्ञानेन्द्रले नारायणहिटी छाड्नु अघि र छाडिसकेपछि पनि राजनीतिक दलहरुसँग कुनै सहमति सम्झौता नभएको दाबी गर्नुभयो ।

अध्यक्ष महतोले संविधान निर्माणको क्रममा एमाले अध्यक्ष केपी ओली महाभिलेन र प्रधानमन्त्री सहायक भिलेनको भुमिकामा रहेको आरोप समेत लगाउनुभयो । मुलुकमा सबै मधेशी पहाडी मिलेर बसेको स्थितिमा ओलीले मधेस र पहाडलाई जोडेर प्रदेश बनाउन खोजेर विभेद ल्याउन खोजेको महतोले आरोप लगाउनुभयो । त्यसो गरे मधेसी र पहाडीबीच साम्प्रदायीक दंगा भड्कीने उहाँको चेतावनी थियो ।अध्यक्ष महतोले एक फरक प्रसंगमा सरकारसँग तत्काल वार्ता गर्ने स्थिति नरहेको बताउनुभयो । उनले सरकार विरुद्धको आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो ।