मिठो खाना र विलासी जीवनले क्‍यान्‍सर

फागुन ६,काठमाडौँमिठो खाना र विलासी जीवनशैलीले नै क्यान्सर निम्त्याउने गरेको उल्लेख गर्दै त्यसप्रति सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्। भुटेको, तारेको, बट्टामा बन्द गरिएको, जंक फुड, जाँडरक्सी, सुर्तीजन्य पदार्थ सेवन र शारीरिक अभ्यास नगर्नेहरू क्यान्सरबाट बढी ग्रसित हुने भन्दै विज्ञहरूले सचेत रहन सुझाए।
नेपाल क्यान्सर केयर फाउन्डेसनकी अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले मिठो खाने रहरमा स्वस्थ खाना बेवास्ता गर्ने र पसिना बगाउन अल्छी गर्ने मानिस क्यान्सरको भयावह अवस्थाबाट गुज्रिनुपरेको बताइन्। ‘क्यान्सरको उपचार शतप्रतिशत सफल हुन्छ भन्ने कुनै आधार छैन’, उनले भनिन्,’त्यही भएर जीवनको सुरु बाटै क्यान्सरदेखि सचेत रहनुपर्छ। के खाँदा र गर्दा राम्रो हुन्छ त्यसतर्फ लाग्नुपर्छ।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार छानिएका स्वस्थ एवं सन्तुलित भोजन खाने र धूमपानबाट मुक्त भए ३० देखि ४० प्रतिशतसम्म क्यान्सरको खतरा घटाउन सकिन्छ ।
‘३० मिनेटको शारीरिक अभ्यासले स्तन, पेट, कोलोनलगायत धेरै क्यान्सरबाट बच्न सकिन्छ’, घिमिरेले भनिन्, ‘मोटो मानिसलाई पेट, पाठेघर, पित्तथैली, प्रोस्टेटलगायत क्यान्सर हुने सम्भावना बढी हुन्छ। त्यसलै मोटोपन घटाउनुपर्छ।’
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले जंक फुड र सुर्तीजन्य पदार्थ त्यागेर शाकाहारी हुन सके पनि क्यान्सरबाट बचिने बताए। ‘गेडागुडी, आलु, रोटी, दालभात, तरकारीको साथै प्रशस्त सागपात र फलफूल खानुपर्छ;, उनले भने, ‘सकेसम्म मासु नखाने, खाए पनि रातो मासु कम खानु राम्रो हो।’
उनका अनुसार क्यान्सरबाट बच्न भिटामिन, खनिज पदार्थ र रेसायुक्त हुने फलफूल र सागपात हरेक दिन कम्तीमा चार सय ग्राम खानुपर्छ। बासी, पोलेका, डढेका खाद्यपदार्थ र मासुको सट्टा खाद्यपदार्थ कम तापक्रममा उसिनेर वा पकाएर खानु उत्तम हुने बरालको भनाइ छ।
बरालले धेरै बोसो खाँदा स्तन, ठूलो आन्द्रा, प्रोस्टेटको र धेरै नुन खाँदा पेटको क्यान्सर हुने सम्भावना भएकाले त्यसबाट बच्नुपर्ने बताए। उनका अनुसार ढुसी परेका, पुराना अचार र बासी खानेकुरा पनि क्यान्सरका कारक तत्त्व हुन्। अन्नपुर्ण पोष्टले खबर छापेको  छ ।