सहमतिको वार्ता अझै अनिश्चित दल हरु आ-आफ्नै अडानमा

फागुन ५ ,काठमाडौँ – सत्ताधारी र विपक्षी दलहरुबीच एक अर्काको पर्खाइका कारण सहमतिको वार्ता अझै अनिश्चित बनेको छ ।

सत्तासिन दलहरुले वाताबरण बनाएको दावी सहित वार्ताका आउन आग्रह गरिरहे पनि विपक्षी दलहरुले वार्ताको वातावरण नबनेको बताउँदै आएका छन् । विपक्षी मोर्चा सहमतिमा संविधान सहितको नयाँ वक्तव्य आउनुपर्ने अडानमा छ भने सत्ताधारी दलहरु अर्को वक्तब्य ननिकाल्ने मनस्थितिमा छन् ।
विपक्षी मोर्चाले यही फागुन १६ को राजधानीमा हुने प्रदर्शनपछि मात्र वार्तामा बस्ने वा नबस्ने भन्ने टुंगो लाग्ने बताएको छ । सत्ताधारी र विपक्षी दलका नेताबीच अनौपचारिक रुपमा चलफल जारी रहे पनि माघ ११ गतेयता औपचारिक रुपमा सामूहिक छलफल हुन सकेको छैन ।
दलीय छलफलका लागि सभामुख सुवासचन्द्र नेम्वाङ्ले फेरि वार्ताका लागि अग्रसरता लिनु भएको छ । नेम्वाङ्ले हिजो मात्र एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीसँग छलफल गर्नु भएको थियो ।