ल्हारक्याल लामाले लिए दोस्रो पटक शपथ

फागुन ३,काठमाडौँ –  एकीकृत माओवादीको तर्फबाट सभासद बनेका ल्यारक्याल लामाले संविधान सभा अध्यक्ष सुवास नेम्वाङसामु आज दोस्रो पटक सभासद्‍को शपथ लिएका छन्। अघिल्लो संविधान सभामा एमालेबाट समानुपातिक सभासद्को शपथ खाएका ल्हारक्याल लामाले दोस्रो संविधान सभामा भने एमाओवादीको समानुपातिक सभासद्‍का रुपमा शपथ लिएका हुन्। सिंहदरवारमा एक कार्यक्रमकाबीच लामालाई संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सपथ गराएका हुन् ।

सर्वोच्च अदालतले शम्भु पासवान हजरीको संविधानसभा सदस्य खारेज गरेपछि रिक्त स्थानमा एकीकृत माओवादीले लामालाई सिफारिस गरेको थियो । एमाओवादीको सिफारिस अनुसार लामालाई १ हप्ताअघि निर्वाचन आयोगले मनोनित गरेको थियो । विवादास्पद छवीका लामालाई सभासद बनाएकोभन्दै एकीकृत माओवादीकै शीर्ष नेताहरुले आलोचना गर्दै आएका छन् ।

लामा दोस्रो संविधानसभाको निर्वाचनको केही दिनअघि मात्र एमाओवादीमा प्रवेश गर्नु भएको थियो । पहिलो संविधानसभा निर्वाचन अघि एमालेको समानुपातिक सभासद बनेका लामा झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला अर्थ राज्यमन्त्री बने पनि नागरिकतासम्बन्धी विवाद सञ्चार माध्यममा आएपछि राजीनामा दिएका थिए ।