काठमाडौं उपत्यका सहित देशभर आज पनि बादल

फागुन ३,काठमाडौं- काठमाडौं उपत्यका सहित देशभर आज पनि बादल लागेको छ । आज दिनभर र भोली समेत मौसम बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद सुवास रिमालका अनुसार देशका धेरै ठाउँमा आज छिटपुट पानी पर्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने पनि उहाँले बताउनुभयो ।
शनिबार पनि पूर्वका केही ठाउँमा हल्का पानी पर्नुका साथै हिमपात समेत भएको छ । मध्य र पूर्वी क्षेत्रको मौसम पूर्ण रुपमा बदली भएको र पश्चिमतिर पनि सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।
उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्र बनेर जल वाष्पयुक्त हावा चलेको कारण मौसम बदली भएको मौसमविद रिमालले जानकारी दिनुभयो । अघिल्लो हप्ता केही दिन घाम लागेर फेरि मौसम बदली भएसँगै चिसो बढेको छ ।