प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड बीच भेटबार्ता

फागुन २,काठमाडौँ – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिबाट संविधान जारी गर्ने प्रतिबद्धता जनाउन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गर्नुभएको छ । आजसम्मको राजनीतिक परिवर्तन मिलेरै प्राप्त भएको भन्दै अध्यक्ष दाहालले सवै दलहरुबीच मिलेर संविधान ल्याउनुपर्नेमा प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराउनुभएको हो । प्रधानमन्त्रीलाई भेट्न आज विहान प्रधानमन्त्रीको सरकारी निवास पुगेका अध्यक्ष दाहालले बिपक्षी मोर्चालाई पनि समेटेर संविधान निर्माणको प्रक्रियालाई अघि बढाउनुपर्ने बताउनुभएको थियो ।

जवाफमा प्रधानमन्त्री कोइरालाले सहमति र सहकार्यबाट नै नयाँ संविधान जारी हुने भन्दै सवै दललाई समेट्ेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको बताइएको छ । दलीय संवादको वातावरण बनाउन आफुहरुले संविधानसभा वैठक स्थगित गरिएको भन्दै प्रधानमन्त्री कोइरालाले आन्दोलन फिर्ता लिएर वार्तालाई निरन्तरता दिन दाहाल समक्ष आग्रह गर्नुभएको उहाँका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

दाहालले संविधानसभा वैठक स्थगित गरिएपछि दलहरुबीच संवादको वातावरण बन्न लागेको हो कि भन्ने आशा पलाएको भन्दै दलीय वार्तालाई निरन्तरता दिन आफुहरु सहमत भएको जनाउ दिनुभएको थियो । संवैधानिक परिषद्को हिजोको बैठकबाट वार्ता शुरु भइसकेको भन्दै अध्यक्ष दाहालले सत्तारुढ दलहरुले नै विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको बताइएको छ ।