रुसी राष्ट्रपति पुटिनद्धारा पूर्वी युक्रेनमा युद्धबिरामको घोषणा

माघ २९, काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी आइतबारदेखि लागू हुनेगरी पूर्वी युक्रेनमा युद्धबिरामको घोषणा गरेका छन् ।युक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोसहित फ्रान्स र जर्मनीका नेताहरुसँग बेलारुसको मिन्स्कमा भएको वार्तापछि पुटिनले युद्धबिराम घोषणा गरेको बीबीसीले जनाएको छ ।

पुटिनले युक्रेन संकटका मुख्य मुद्दामा सहमतिको व्यवस्था मिलाएको जानकारी पनि दिए । फ्रेन्च राष्ट्रपति फ्रास्वाँ ओल्यान्डले महत्वपूर्ण सहमति भएपनि सबै विषयमा भने सहमति भैनसकेको बताए ।युक्रेन संकट समाधानको विषयमा बुधबारदेखि भएको मिन्स्क शान्तिवार्ता युद्धबिराम, ठूला हतियारको फिर्ता र पूर्वी युक्रेनमा गैरसैनिक क्षेत्र घोषणा गर्ने विषयमा केन्द्रित थियो । युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया रुसले आफूमा विलय गराएपछि युक्रेन संकट बढेको हो ।

पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादीलाई रुसले सघाइरहेको पश्चिमा मुलुकहरुको आरोप छ भने रुसले त्यहाँ सेना नपठाएको र रुस समर्थित पृथकतावादीलाई हातहतियार पनि उपलब्ध नगराएको दाबी गर्दै आएको छ ।युक्रेनी सेना र पृथकतावादीबीचको संघर्षका कारण ५ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं विस्थापित भएका छन् । (एजेन्सी)