नयाँ दिल्लीमा आम आदमीको ‘सुनामी’ यसकारण आयो

माघ २८, काठमाडौं – नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले दिल्ली प्रान्तको मुख्यमन्त्री हैसियतमा रहेका आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई गत जनवरी २६ को गणतन्त्र दिवसको विशेष समारोहमा आमन्त्रण गरेको थिए । ‘उमेर,हैसियत र स्थान’का आधारमा पूर्वमुख्यमन्त्री केजरीवाललाई उक्त दिवसमा नबोलाइएको भनेर सरकार पक्षधर भारतीय जनता पार्टी (भाजपा)का उच्च अधिकारीले जवाफ दिएपछि दिल्लीवासीले तत्कालै पत्तो पाएका थिए – भाजपामा उन्माद पलाएछ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामासमेत सम्मिलित विशेष समारोहमा पूर्वमुख्यमन्त्री र उद्योगी ,व्यापारी ,कलाकारसहितको १ हजारभन्दा बढीको विशिष्ट हैसियतमा सहभागिता थियो । तर,भाजपा वृत्तमा ४९ दिने मुख्यमन्त्री भन्दै खिसिट्युरी गरिने केजरीवाललाई कुनै अमूक दलको अमूक नेतासरह पनि मान्यता दिइएको थिएन ।
त्यसमाथि फेव्रुअरी पहिलो साता रामलीला मैदानबाट सुरु भएको दिल्लीको चुनावीसभामा प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवालतर्फ संकेत गर्दै एक अराजक विप्लवकारी र नक्सलवादीसँग मिल्दो भनेर टिप्पणी गरेपछि दोस्रो चरणमा भाजपा संस्थापन पक्षको उन्दाम बढेर गएको पुष्टि भएको थियो । त्यसमाथि एउटा अमूक मानिँदै आएको दल र त्यसका नेताविरुद्द स्वयं प्रधानमन्त्री र उनको क्याबिनेटका झन्डै २ दर्जन मन्त्री चुनाव प्रचारको मैदानमा उत्रेको दृश्य त्यति सुहाउँदो देखिन्नथ्यो ।

अर्को चरणमा भाजपाभित्रका परिपक्व र आसलाग्दा भनिएका जगदीश मुखीलाई मुख्यमन्त्रीमा प्रत्यासी बनाउने चर्चा चलाएर विधानसभा चुनावको दुई साताअघि मात्रै पूर्वप्रहरी अधिकृत किरण वेदीलाई एकाएक पार्टीमा भित्राउँदै मुख्यमन्त्री दावेदारका रुपमा अघि बढाउनाले भाजपाभित्रकै एउटा तप्कामा पनि असन्तुष्टि छाएको थियो । दिल्ली हरियाणा ,झारखण्ड र कश्मीरमा भएका चुनावमा आशा गरिएभन्दा बढी मत ल्याएपछि आफूलाई रानीतिको सच्चा खेलाडी र जनसूत्रधार मान्न थालेको भ्रमले भाजपा अभ्यक्ष अमित शाहको मात्रै होइन ,मोदी मन्त्रिमण्डलको समेत एकाएक साख गिर्न थालेको छ ।
मंगलबार अपराह्न आएको विधानसभाको चुनावी नतिजामा दिल्ली राज्यका ७० मध्ये ६७ मा आपले विजय हासिल गरेपछि आप अध्यक्ष केजरीवालले भने,‘कंग्रेस र भाजपा अहंकारले आजको स्थितिमा आएका हुन्,हामी अहंकार नगरौं ।