दुई दिनभित्र गतिरोध अन्त्य हुन्छ : गच्छदार

माघ २७, काठमाडौं – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुलुकमा जारी राजनीतिक गतिरोध दुई दिनभित्र अन्त्य हुने दाबी गरेका छन् ।

सत्तारुढ तथा विपक्षी दुबैको हठका कारण विगतमा सहमति बन्न नसकेको भन्दै उनले एक/दुई दिनयताका राजनीतिक घटनाक्रमले छिट्टै सहमति हुने सम्भावना देखिएको बताएका हुन् ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा मंगलबार पत्रकारसँग कुरा गर्दै गच्छदारले यही माघ ५ गते आफूले अघि सारेको प्रस्तावलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले स्वीकार्न नसक्दा गतिरोध बढेको बताए ।

दाहालले विपक्षी मोर्चाको नेतृत्व पनि सही ढंगले गर्न नसकेको भन्दै उनले आन्दोलन, बन्द, हडताल जस्ता कार्य गर्नुको कुनै तुक नहुने बताए ।प्रधानमन्त्री सुशील कोइरालाले सहमति र वार्ताका लागि गरेको आह्वान सकारात्मक भएको पनि गच्छदारको भनाइ थियो ।